काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरेका छन् ।
आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन् ।
उनले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने बताए । असंवैधानिक ढंगले विघटित संसद पुन:स्थापना हुनु आवश्यक रहेको पनि उनले बताए ।
संसद् पुनर्स्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? भन्दै उनले प्रश्न पनि गरे । ‘अनिर्वाचित बुख्याँचाहरू सब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याँचा ? मिल्छ यो ? बुख्याँचा निर्वाचित हुँदैन कहिल्यै पनि ।
बुख्याँचा कसैले राखिदिने हो । सिंहदरबार बुख्याँचा कसैले लगेर किलोमा गाडिदिने ठाउँ होइन, जनताबाट, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो,’ ओलीले भने, ‘आधिकारिक, जोसँग लोकतान्त्रिक मूल्य मान्यताको हैसियत छ, त्यो बस्ने ठाउँ हो ।
लोकतन्त्र भनेको नराम्रो कुरा हो । एमालेसँग रिस उठेको होला, एमालेसँगको रिस लोकतन्त्र, देशमाथि नपोखौँ । केपी ओलीसँग रिस उठेको होला, केपी ओलीसँग उठेको रिस संविधानमाथि लगेर, लोकतन्त्रमाथि लगेर, देशको विकास र सुशासनमाथि लगेर, देशको सार्वभौमसत्तामाथि लगेर नपोखौँ ।’
अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरू तरकारी बारीमा नै ठिक रहेको टिप्पणी उनले गरे । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उनको भनाइ छ ।


