काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।
भक्तपुर । आज मार्ग शुक्ल पूर्णिमाको दिन, नेवार समुदायले ठूलो चाडको रुपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ ।
“त्यःछिं त्यः, बकछिं त्यः
लातापाता कुलिचां जुसें त्यः
योमरी च्वामु, उकिइ दुने हामु
बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुति”
यसै सन्दर्भमा गाइने गीत हो यो । यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले यही गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन् । तिहारमा देउसी÷भैलो खेले जस्तै गरी आज त्यःछिं त्यः बकछिं त्यः खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको छ ।
नेपाल भाषाको यो गीतमा पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिन, चामल हुनेले चामल दिनु, यमरी हुनेले यमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ । लोकलयमा परम्परागत योमरी माग्ने प्रचालन पछिल्ला पुस्ताले अनुसरण गर्न छाडेको संस्कृतिकर्मी सुमन श्रेष्ठले बताउनुहुन्छ ।
“त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ती यः
ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु उकी दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”
संस्कृतिकर्मी श्रेष्ठले मल्लकालीन समयमा नेपाल भाषा उच्च स्थानमा रहेकाले यमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउनुभयो । यमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्को समेत पाइने उहाँको भनाइ छ ।
यमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वको रुपमा यमरी पून्ही मनाउने गर्छन् । आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा पनि लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात यमरी पून्हीको अवसरमा दान गरे फलिफाप हुने विश्वास छ ।
मल्लकालदेखि यो पर्वमा आजको दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले यमरी लिने र दिने परम्परा रहेको अर्का संस्कृतिकर्मी श्रीकुमार जोशी बताउनुहुन्छ । धान्य पूर्णिमासमेत भएकाले आजको दिन बिहानैदेखि विभिन्न शिवालयहरुमा दर्शन गर्नेको भीड छ । यमरी चढाएर पुजा गर्नेहरुको शिवालयमा भीड लागेको हो ।
यमरी पुन्हीका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुँदपाक, खुवा राखी त्रिकोण आकारमा बनाइ पानीको बाफमा पकाउने गर्छन् । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ ।
यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्परा अनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा लिइन्छ ।
यमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । यस पुन्हीमा नेवारी समुदायले पहिलो धान भित्र्याएको भकारीमा त्यसमध्येकै केही चामलको पिठोमा बनाइएको यमरीबाट देवता पूजा गर्ने चलन भएकाले धान्यपूर्णिमा पनि भन्ने गरिएको हो ।
यमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ । यमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता छ । यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ ।
यमरीको किम्वदन्ती ः
किम्वदन्ती अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कार देखी प्रसन्न भइ कुबेरले आफ्नो असली रुप देखाइ यमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पति वृद्धि भयो र यःमरी खाएका कारण शरीर समेत हृष्टपुस्ट हुन थाल्यो ।
त्यही बेलादेखि नेवार समुदायमा यमरी पूर्णिमाको संस्कृति विकास भएको किम्वदन्ती छ । धनसम्पति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा यमरी पूर्णिमाका दिन सबैले यमरीसहित विभिन्न देवीदेवताको पुजा गरी दान गर्ने गर्दछन् । नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र यमरी दान गर्ने प्रचलन छ ।
‘योमरी पुन्ही’ पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । यस पर्व वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्ही अर्थात् धान्य पूर्णिमा भन्ने गरिएको हो । योमरी पूर्णिमा अर्थात् थिङ्ला पुन्ही यस वर्ष आज मङ्सिर १८ गते मनाइँदैछ ।
लिच्छवीकालीन समयमा ‘पाञ्चाल देश’ भन्ने एउटा स्थल थियो, जो हाल काभ्रेपलाञ्चोकको पनौती नगर हो । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एक राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए । उनै राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको छ । जुन स्थानलाई अहिले ‘नमोबुद्ध’ भनिन्छ । ‘पाञ्चाल देश’ अर्थात् पनौतीमा महासत्वको जन्म भएको जनविश्वाससहित प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा पनि लाग्ने गर्दछ ।
लिच्छवीकालीन ग्रन्थमा समेटिएको घटनाक्रमअनुसार योमरी पूर्णिमाको प्रचलन पनौतीबाट सुरुआत भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । उतिबेलाको पाञ्चाल देशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले योमरीको उद्गम्स्थल पनौती भएको पुष्टि गर्न सकिने स्थानीय राजाराम कर्माचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाञ्चाल देशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले योमरीको प्रचलन सुरुवात पनौतीबाट भएको विश्वास गर्दै आएको हौँ ।” पनौतीको इतिहासकै आधारमा नेपालका अन्य स्थानमा विशेष गरी नेवारी समुदायले योमरी पूर्णिमा धुमधमका साथ मनाउँदै आएका कर्माचार्यको भनाइ छ । अहिले यो पर्वले सबै समुदायलाई मोहित बनाउँदै लगेको पाइन्छ ।
महासत्वलाई गौतम बुद्धको पूर्वजन्मसमेत रहेको मानिँदै आइएको छ । ग्रन्थअनुसार तत्कालीन पाञ्चाल देशमा एक सुचन्द्र नाम गरेका महाजन थिए । धर्मात्मा सुचन्द्रले आफ्नो दयालु श्रीमतीसँग जीवन गुजारा गरिरहँदा सन्तान अभावको पीरमा भगवान विष्णुको प्राथना गर्ने गर्थे । मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर रोटी (योमरी) पकाउन लाग्दा भगवान् कुवेरले भेष बदलेर गरिब ब्राह्मणको रूपमा उनीहरूका घर आएर भिक्षा माग्न थाल्नुभयो ।
सुचन्द्रकी श्रीमतीले एउटा गरिब बुढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर माया जाग्यो र ब्राह्मण रूपधारी कुवेरलाई आफ्नो घरभित्रै बोलाएर ब्राह्मणले लगाएको पुरानो झुत्रो लुगालाई नयाँ फेरिदिएपछि अन्यत्र जान हतारिएका ब्राह्मणलाई पुनः एकछिन घरमा बस्न अनुरोध गर्दै तातोतातो योमरी खान अनुरोध गर्दा श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले कुवेर प्रसन्न भई आफ्नो असली रूपमा देखाएर भगवान् कुबेर अन्तर्धान हुनुभएको थियो । त्यसअघि कुवेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी योमरीका साथ विधिपूर्वक पूजा गर्न अनुरोध गर्नुभएको थियो । कुवेर उनीहरूको घर आएको दिन मङ्सिर शुक्ल पूर्णिमा थियो । पूजाकै प्रभावले दुई दम्पती सुखपूर्वक रहन थाले ।
दिन, हप्ता, महिना, वर्ष हुँदै यो कुरा सबैतिर फैलिन थाल्यो । त्यसपछि सबैले योमरी पुन्हीका दिन घर लिपपोत गरेर योमरी बनाई धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र कुेरको प्रतीक राखेर विधिपूर्वक पूजा गर्ने चलन चलाएका थिए । त्यो बेलादेखि नेवार समुदायमा घरघरमा योमरी पकाई खाने चलनको थालनी भएको मानिन्छ । तिहारमा देउसीभैलो खेले जस्तै यस दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने ‘त्यःछिं त्यः बकछिं त्यः’ खेल्ने मल्लकालीन प्रचलन पछिल्लो समय कहीँकतै मात्रै चल्ने गरेको पाइन्छ । योमरी माग्ने क्रममा घरघरमा गएर यस्तो गीत गाउने प्रचलन छ ।
‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।
अर्थात्
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’ …
यही दिन बनेपा र पनौतीको सीमास्थलमा अवस्थित धनेश्वर महादेवमा ठूलो मेला लाग्ने भएकाले मेला भर्न टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । लिच्छवीकालीन ग्रन्थमा उल्लेखित सुचन्द्र महाजनको कथा अंशुवर्मा पालाको बौद्धग्रन्थ ‘रत्नबदाने बुद्ध वचन’मा पनौतीमा सुचन्द्र महाजन दम्पतीको बसोबास भएको उल्लेख भएको पाइन्छ । कथाका पोख्त स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार यःमरीको विषयमा पनौतीबाहेक कुनै ग्रन्थ तथा ऐतिहासिक दस्तावेजमा पाइँदैन । पनौतीबाट सुरुवात भएको भन्नेबारे पुस्तौँदेखिका स्थानीय वृद्धहरूले भन्दै पूर्णभक्त कोङ्गाले बताउँदै आउनुभएको छ । योमरीको प्रचलनबारे बुझ्ने जो कोहीले कोङ्गालाई भेटेपछि विश्वस्त भएका उदाहरण पनि भेटिन्छन् ।
यःमरी चामलको पिठोबाट बनाइन्छ । पानीमा पिठो मुछेपछि लाम्चो चुच्चो परेको आकारमा ढालेर त्यसको मुख बन्द गर्नुअघि भित्र स्वादअनुसार तताएको चाकु, खुवालगायत मनपर्ने सामग्री हालेर आकार दिई न्द गरिन्छ । यसरी योमरी भरेर आकार दिएपछि फोसीमा बफाएर पकाउने गरिन्छ ।
कोङ्गाका अनुसार योमरी पकाउन सबैभन्दा पहिले फोसीमा पानी राख्ने र त्यसपछि फोसीमाथि पटासी अनि पटासीमा पराल राखेर त्यसमाथि योमरी राखिन्छ । यसलाई माथिबाट भेगाःले छोप्नुपर्छ र पकाउन सुरु गरेको करिब २० मिनेटपछि योमरी पाक्छ । मङ्सिरमा नयाँ धान घरमा भित्र्याइएपछि नयाँ चामलको पिठो पिनेर ल्याएर त्यसबाट बनेको पहिलो खानेकुरा भगवान्लाई चढाउने चलन छ । जुन आकार दिएर भगवान्लाई योमरी चढाइन्छ, त्यो धानको थुप्रोजस्तै देखियोस् भनिएकाले यस्तो आकार दिने गरिएको हो । यो आकार र चढाउने चलन सृष्टिकर्तालाई धन्यवाद र सम्मान दर्शाउने माध्यमका रूपमा लिने गरिन्छ ।
स्थानीय साहित्यकार सूर्यप्रसाद लाकोजूले योमरीसँग जोडेर पनौतीको कथासमेत प्रकाशित गर्नुभएको छ । उहाँको कथामा योमरीको बारेमा पाञ्चाल देशसँग जोडेर यसको सुरुवात र प्रचलन विस्तारबारे विस्तृतमा उल्लेख गर्नुभएको छ । उहाँले पनि पनौतीबाट जन्मेको योमरी पर्व हाल विस्तार भएर नेपालका कुनाकाप्चामा पुगिसकेको जनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यो पर्व पनौतीको महत्वपूर्ण पर्वहरू मध्येको एक हो, चाडपर्वको क्षेत्रमा यो पर्वको विशिष्ट स्थान रहेको छ ।”
‘योमरी’ नेपाल भाषाको शब्द हो । ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’को अर्थ रोटी हो । यसरी ‘योमरी’ लाई अथ्र्याउँदा यसको शाब्दिक अर्थ ‘मन पर्ने रोटी’ हुन्छ । प्रायः चाकु र तील हालेर बनाइने यो रोटी विशेष किसिमको माटोको भाँडा ‘पोटासी’मा बफाएर पकाउने गरिन्छ । पछिल्ला केही वर्षदेखि खुवा तथा अन्य मनपर्ने परिकार हालेर यःमरी बनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।
लाकोजूका अनुसार दुईदेखि १२ वर्षसम्मका बालबालिकाको जोरवर्ष परेको जन्मदिनमा (२, ४, ६, ८, १०, १२) बालकको वर्षअनुसारको यमरी राखी माला बनाएर जन्मदिनमा लगाइदिने प्रचलन छ । बाह्र वर्ष नाघेपछि भने योमरीको माला लगाई जन्मदिन मनाउने चलन हट्नेछ । त्यस्तै गर्भवती महिलालाई बच्चा जन्मनुभन्दा पहिले माइतीका तर्फबाट योमरीसहित विभिन्न परिकारको भोज खुवाउने चलन पनि छ । नेवार समुदायमा बुढाबुढीको जड्को (भीम रथारोहण) गर्दा पनि योमरी चाहिन्छ । उपत्यकाको रातो मच्छेन्द्रनाथ र सेतो मच्छेन्द्रनाथको रथ तान्नुअघि योमरी छर्ने प्रचलन अद्यावधिक कायम छ । यसप्रकार योमरीको नेपाली संस्कृति र संस्कारमा ठूलो स्थान रहेको देखिन्छ ।
डा चन्द्रा बज्राचार्यका अनुसार विशेषगरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात् योमरी पकाई खाने गर्दछन् र त्यही विशेष रोटीको नाउँमा उक्त पूर्णिमाको नाम नै ‘योमरी पुन्ही’ रहन गएको हो । यो पूर्णिमा थिङ्ला पुन्ही, मार्ग पूर्णिमा, यःमरि पुन्ही, धान्य पूर्णिमा, गैँडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ । दसैँमा पहिले जमरा छरेर उखेली सकेपछि मात्र धान काट्ने काम सुरु गर्ने र योमरी पुन्हीसम्ममा धान भित्र्याइसक्नुपर्छ भत्रे धारणा रहँदै आएको छ ।
यस्तै यस दिन पनौतीको काँठुगणेशमा धुमधामसँग जात्रा लाग्ने गर्दछ । पूजाआजासहित खटमा राखिएका गणेशलाई नगर परिक्रमा गरिने यो जात्राको पनि विशेष महत्व छ । स्थानीयले बिहान योमरी पकाई खानुअघि योमरी राखेर नगरभित्रका देवीदेवताको पूजा गर्ने चलन छ । बेलुका शुद्ध गरी छुट्याइ राखेको अमरीका साथ कुमार, गणेश, कुवेर र लक्ष्मीको पूजा यसरी पूजा गरेको यमरीलाई चार दिनपछि भक्तिपूर्वक अर्चना गरी प्रसाद फिकिन्छ र अमरीलाई प्रसादका रूपमा बाँड्ने प्रचलन पनि छ ।
अर्को किंवदन्ती अनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ ।
जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी सङ्गममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राख्ने पनि गरिन्छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ । यहाँस्थित त्रिवेणीघनटान हरेक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ । मकर मेलामा प्रमुख परिकारका रूपमा योमरीलाई लिइने गरिन्छ ।


