१६ असार २०८३, मंगलबार 1782869786
Banner

राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन्।

उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन्। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै प्रसाईंले यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको र गृहमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको जानकारी दिए।

उनले आफ्ना मागहरू नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको बताए। यद्यपि, सरकारले माग पूरा नगरेमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनीसमेत दिएका छन्।

प्रसाईंले अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र ‘जेनजी’ लाई टेकेर बनेको सरकारले उनीहरूलाई नै थुनेको आरोप लगाए। उनले सरकार ‘उल्टो बाटोमा’ हिँडिरहेको बताएका छन् र जेनजी विद्रोहीलाई थुन्न नहुनेमा जोड दिएका छन्।

उनले भने, ‘उहाँहरूले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेनजीलाई थुनेको छ । उहाँहरू उल्टो बाटोमा हिँड्नुभएको छ । जेनजी विद्रोहीलाई थुन्नुभएन ।’ उनले राष्ट्र जोगाउन सबैले आफूलाई साथ दिन पनि आह्वान गरेका छन्।