काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । भ्रमणको क्रममा पुटिनले शुक्रबार २३ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा अमेरिकाले भारतमाथि लगाएको प्रतिबन्ध, व्यापार र ऊर्जा साझेदारीमा छलफलसँगै रक्षा सहयोगबारे छलफल हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ दिल्ली आइपुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनको लागि एक निजी रात्रिभोज आयोजना गर्नेछन् । रुसी नेतालाई स्वागत गर्न नयाँ दिल्ली ब्यानरहरूले सजाइएको छ । युक्रेनमाथि आक्रमण गरेपछि पुटिनको यो पहिलो भारत भ्रमण हो ।
रूसी राष्ट्रपति पुटिनको सहज र सुरक्षित बसाइ सुनिश्चित गर्न अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका छन् । पुटिनको सुरक्षाका लागि विशिष्ट राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) कमाण्डो, सम्भावित यात्रा मार्गहरूमा तैनाथ स्नाइपरहरू, ड्रोन निगरानी, अनधिकृत संकेतहरू रोक्न ज्यामरहरू, र निरन्तर निगरानी कायम राख्न एआई सञ्चालित निगरानी प्रणालीहरू तथा उच्च प्रविधियुक्त अनुहार पहिचान क्यामेराहरू पनि राखिएको छ ।


