१७ असार २०८३, बुधबार 1782918929
समाचार

१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ

मोरङ । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया किशोरी अंशु गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको हो। घटनाको अनुसन्धानका क्रममा छिमेकीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गएको असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव फेला परेको थियो। प्रहरीका अनुसार शव टाउको र शरीर छुट्टिएको तथा सडेर क्षतविक्षत भएको बीभत्स अवस्थामा भेटिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरबाट हराएकै दिन अंशुको हत्या भएको देखिएको छ। मृतक अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।

घटनाको विस्तृत जानकारी तथा पक्राउ परेका अभियुक्तबारे जानकारी दिन मोरङ प्रहरीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रहरीले अभियुक्तबारे विस्तृत खुलाएको छैन ।