काठमाडौँ, २५ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् ।
योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो ।
आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।


