रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । चपुर–गौर सडक खण्डअन्तर्गत डुमरियाबाट २ किमि दक्षिणतर्फ शनिबार साँझ ७ः३० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २.०३.०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक गढिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।
मोटरसाइकल चालक साहको उपचारका क्रममा सरकारी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेकाले न्युरो अस्पताल वीरगञ्ज रिफर गरिएको छ । घटनामा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।


