उदयपुर । उदयपुरमा प्रहरीले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । गएराति इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले ठूलो परिणाममा गाँजा बरामत गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
गएराति अन्दाजी साढे १२ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्लाको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकमा चेकजाँचका क्रममा प्रहरीले ७६३.७६ किलोग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले मदन भण्डारी राजमार्गको पैतालिस चोकमा पूर्व रामपुरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीले बोलेरो गाडीसँगै गाडीका चालक बेलका नगरपालिका–६ का अन्दाजी २३ वर्षीय रविनकुमार राई र सोही बोलेरोमा सवार रहेका बेलका नगरपालिका–९ का अन्दाजी २८ वर्षीय रामबहादुर राईलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक प्रभात लक्छम लिम्बुले जानकारी दिए ।
प्रहरीले नियन्त्रमा लिएको गाँजा, बोलेर गाडी, चालक र सोही गाडीमा सवार अर्का व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो समय उदयपुरमा लागूऔषध गाँजाको ओसारपसार बढेको छ ।


