काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले लोकप्रियतावादलाई नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गर्नु भ्रम मात्र भएको बताएका छन् । उनका अनुसार सामाजिक सञ्जालमा भाइरल हुनु, आक्रोश प्रदर्शन गर्नु वा भिड उक्साउनु राज्य सञ्चालन गर्ने योग्यता हुन सक्दैन ।
‘लोकप्रियतावाद नेतृत्व होइन, यो भ्रम हो, सामाजिक सञ्जालमा भाइरल हुनु, आक्रोश देखाउनु वा भिड उक्साउनु राज्य चलाउने योग्यता होइन’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । यो कुरा इतिहासले नै देखाइसकेको उल्लेख गर्दै उहाँले भीडबाट बनाइने नेतृत्व क्षणिक हुने र संस्थागत तथा अनुभवी नेतृत्व मात्रै दीर्घकालीन रूपमा टिकाउ हुने धारणा व्यक्त गरे ।
उनले देश फेसबुक लाइभ, स्टन्ट वा भावनात्मक उत्तेजनाबाट होइन, नीति, सिद्धान्त र जिम्मेवारीपूर्ण निर्णयबाट चल्ने स्पष्ट पारेका छन् । नेपाल कुनै प्रयोगशाला नभएको उल्लेख गर्दै उनले यहाँ भावनात्मक आवेगभन्दा विवेकपूर्ण निर्णय आवश्यक रहेको स्पष्ट पारे ।
‘इतिहासले देखाइसक्यो(भीडले बनाएको नेता क्षणिक हुन्छ, संस्थागत र अनुभवी नेतृत्व मात्र टिकाउ हुन्छ, देश फेसबुक लाइभ र स्टन्टबाट होइन, नीति, सिद्धान्त र जिम्मेवारीबाट चल्छ,नेपाल प्रयोगशाला होइन, यहाँ भावनात्मक आवेग होइन विवेकपूर्ण निर्णय चाहिन्छ’, बस्नेतको धारणा छ ।
सचिव बस्नेतले लोकतान्त्रिक व्यवस्थामा नेतृत्वले जनभावनालाई सम्मान गर्दै संस्थागत प्रक्रिया, दीर्घकालीन सोच र राज्यको जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।


