काठमाडौै । सभापति शेरबहादुर देउवाको सहमतिविनै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको प्रक्रियामा अघि बढेपछि नेपाली कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको छ। महामन्त्रीद्वय थापा र शर्मासहितको आजको बैठकले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।

कांग्रेसले पुस २६ गते गर्ने गरी तोकेको १५ औं महाधिवेशनबारे भने न प्रक्रिया अघि बढेको छ, न स्थगित नै गरिएको छ। संस्थापन तथा विशेष महाधिवेशन पक्षधरहरु अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूको बिहीबार महाराजगञ्जमा बसेको बैठकले पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो। उनीहरुले साँझ संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगन गरिएको जनाएका छन्।
पुस २६ देखि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका तोकिए पनि प्रक्रिया नै अघि नबढेपछि बाध्य भएर विशेष महाधिवेशन गर्न लागिएको यो समूहको तर्क छ। आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनको बा र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। पार्टी विधानको धारा १७ अनुसार विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको भन्दै थापा पक्षधरहरुले भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन्।
यसअघि विशेष महाधिवेशनको माग गर्दै पार्टीको कुल सदस्य संख्याको ५४ प्रतिशतले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। कांग्रेस केन्द्रीय समिति बैठकले पुस २६ गतेदेखि १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।


