कैलाली, २० पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष (२०८३/८४–२०८७/८८) को मस्यौदा अवधारणापत्र माथिको छलफलमा उहाँले लक्ष्यबिना योजना सफल नहुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । स्रोतसाधन र क्षमताको उचित व्यवस्थापन गर्दै प्राथमिकताका आधारमा विकास प्रक्रियालाई गतिशील बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपलब्ध सीमित स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
मुख्यमन्त्री शाहले विकास योजनाको सफल कार्यान्वयनका लागि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । दीर्घकालीन विकासका लागि आधार तयार गर्न र भविष्यका योजनाका लागि मार्गनिर्देशन प्रदान गर्नका लागि प्रदेश निति तथा योजना आयोगले धनगढीमा कार्यक्रमको आयोजना गरेको हो । मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले प्रकाश पार्नुभएको थियो ।
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका टोली प्रमुख डा हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराललगायत सहभागी हुनुहुन्थ्यो ।


