काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
प्रचण्ड निवासमा बिहान नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने विषयमा छलफल भएको हो । सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
‘दलको मतभारको आधारमा सम्मानजनक सिट बाँडफाँट भए मात्र कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ । हामीले जितेका सबै सिट दिनुपर्छ भन्ने कुरा त भएन । सहमति नभए एकल उम्मेदवारी कुराकानी भएको छ । कांग्रेस र एमालेका कुनै पनि नेतासँग छलफल भएको छैन’, प्रचण्डको सचिवालयले भन्यो ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए । भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । तीन दिनअघि उनले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग छलफल भएको बुझिएको छ ।
माघ ११ गते राष्ट्रिय सभामा १८ पदको लागि निर्वाचन हुँदैछ । फागुन २० गते पदावधि सकिनेमा साबिक माओवादी केन्द्रको ७, एमालेको ८, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको एक/एक जना छन् । कांग्रेसले ८ जना पाउनुपर्ने दाबी गरेको छ । तीन दलबिच तालमेलन गर्ने नै भए नेकपालाई दुई सिट दिन सकिने कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । तर नेकपाले कम्तीमा ५ सिट दाबी गरेको छ ।


