काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । मंगलबार बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गते पछि बोलाउँदा उपयुक्त हुने बताए ।
डा. कोइरालाले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुङ्ग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।
भेटमा डा। कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए । भेटमा केन्द्रीय सदस्यहरूको तर्फबाट पुष्पा भुसालले आफूहरूले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेट गरिरहेको जानकारी दिएकी थिइन् । उनले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएर समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन् ।
उनले मध्यमार्गी बाटो पहिल्याउन डा. कोइरालालाई आग्रह समेत गरिन् । उनीहरूले दुबैपक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा। कोइरालालाई सामूहिक आग्रह गरेका थिए । भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पासहितका नेताहरू थिए ।


