काठमाडौँ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले नेपाली कांग्रेसको विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको बताएका छन् । विशेष या नियमित दुवै महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रीय कार्य समितिलाई मात्र भएको उनको भनाइ छ । केन्द्रीय कार्य समिति बाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार पार्टीको विधानले दिएको छैन, उनले भने ।
केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने पार्टीको वैधानिक व्यवस्था रहेको उनले उल्लेख गरेका छन् । केन्द्रीय कार्य समितिले अनुमोदन वा निर्णय नगरेसम्म महाधिवेशन सम्बन्धी निर्णय वैधानिकरुपले कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘२०८२ मंसिर १५ गते नै २०८२ पुष २६, २७ र २८ गते पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको क्षण नै विशेष महाधिवेशनको औचित्य र आवश्यकता समाप्त भई सकेको छ । केन्द्रीय कार्य सम्पादन समितिले १५औँ महाधिवेशन पुसमा गर्न नसकिने भएकोले मिति परिवर्तन गरी २०८३ वैशाख २८, २९, ३० र ३१ गते तोकी सकेको र मुलुक चुनावमा गइसकेको कारणले विशेष महाधिवेशनको सामाजिक सञ्जालमा हल्ला गर्नुको कुनै औचित्य र आवश्यकता नै छैन ।’
‘पार्टीको वैधानिक समितिले वैधानिक बाटोबाट वैधानिक तरिकाले वैधानिक प्रक्रियाहरू पुरा गरेको निर्णयहरू मात्रै वैधानिक हुन्छन् । अहिले सामाजिक सञ्जालमा चलाइएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन । यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुँदैन र हुन पनि सक्दैन’, उनले भनेका छन् । केही व्यक्तिहरुले बोलाएको भेला सानो गुटको भेला मात्र हुने उनले उल्लेख गरेका छन् ।


