काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रियसभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । उनले बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेदवार छनौट गरिएको बताए । पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ ।
उनले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गरे । राष्ट्रियसभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताए । उनले ६०–४० को भागबण्डाका आधारमा उम्मेदवार छनौट गरिएको पनि आरोप लगाए । ९ जनाको सूचीमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रियसभाको प्रतिनिधि छान्ने सन्र्दभमा जुन खालको छलफल गर्यौँ, त्यसमा अहिलेसम्म दुःखद् कुरा मैले भन्नैपर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नुभयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुख पक्ष हो । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी जुन पार्टीले पद्धति मात्रै बसालेको होईन, प्रक्रियाको पनि सबैभन्दा महत्वपूर्ण अंग हो लोकतन्त्रको । त्यो प्रक्रियगत रुपमा कही छलफल नगरि अहिले जुन ९ जनाको नाम ल्याइएको छ ।’
उनले थप भने, ‘इतर र भितरको ६० र ४० को भागबण्डामा नै यो नाम आएको छ । यो ९ जनाको मान्छेहरुको नाममा एउटा पनि जनजाती पर्न सक्या छैन भने साह्रै दुःख पाएका, संघर्ष गरेका राजनितिज्ञ अवथा नेपाली कांग्रेसलाई, लोकतन्त्रलाई सहयोग गरेका कलाकार, साहित्यिक क्षेत्रका धेरै मान्छेलाई प्रतिनिधित्व गराउनुपर्ने थियो । सबैभन्दा पहिला त आदीबासी जनजातीको प्रतिनिधित्व नै छैन । व्यक्तिको नाममा म टिप्पणी गर्न चाहन्छ तर जुन प्रक्रियाबाट जसरी ल्याईएर टुंग्याईयो यो चाही लोकतन्त्रको निम्ति लज्जास्पद भन्ठान्छु मैले ।
लोकतान्त्रिक पार्टी भएर ४ दिनसम्म बैठक गरेर व्यक्तिगत औचित्य, उपयोगिता, क्षमता, उसको योगदान कुनैको छलफल नभईकन टक्क लिष्ट आएर जो प्रश्तुत गरियो त्यसमा मैले असहमति जनाए ।’ नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नै नगरी सूची प्रस्तुत गरिनु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाइ छ । उलले पार्टीको निर्णयप्रति असहमति राखेको जनाए ।


