काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको निर्णायक भनिएको वार्ता सकिएको छ ।
देउवा निवास महाराजगन्जमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको बुझिएको छ । वार्तामा सभापति देउवाले अहिले नै पदबाट राजीनामा दिन तयार नभएको बताइएको छ । साथै, सभापति देउवाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबारे चासो नै नदेखाएको स्रोतले बतायो ।
कांग्रेस नेता रमेश लेखकले सभापति देउवाले टिकट बाड्ने पत्रमा हस्ताक्षर गर्नबाट पछि हट्न लचक भएको बताएका छन् । करिब एक घण्टाको छलफलबाट निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय थापा र शर्मा देउवा निवासबाट बाहिरिएका छन् ।
यसैबीच, सहमति नहुने पक्का भएपछि विशेष महाधिवेशनको निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमहरु अगाडि बढाउने तयारी थालेको बुझिएको छ ।


