काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।
सभापति पदमा भने गगन थापाको मात्र एकल उम्मेदवारी परेको छ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच वार्ता भएको थियो। तर उक्त वार्ता निष्कर्षमा पुग्न सकेन।
वार्ता सफल नभएपछि महामन्त्रीद्वय थापा र शर्मा हाल कानुनविद्हरूसँग परामर्शमा रहेको बताइएको छ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारहरूको नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिनेछ।


