काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।
मोर्चामा सात वटा दल छन् । त्यसमध्ये जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको छ ।
उता एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भन्दै राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबिच सहमति भइसकेको छ । मोर्चाको बैठकले जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच हुने चुनावी तालमेलको खाका बनाउने जनाइएको छ ।
यसअघि बसेको मोर्चाको बैठकले कुनै दलमा कति जना उम्मेदवार सिफारिस भएको, कुन क्षेत्रको के अवस्था छ भन्ने लगायतको विषयमा अध्ययन गरेर बैठकमा प्रस्तुत गर्न भनिएको थियो ।
आजको बैठकमा सबै दलले आ–आफ्नो क्षेत्र र उम्मेदवारका बारे बैठकमा प्रस्तुत गर्ने र त्यसमा छलफल गरेर टुङ्गो लगाइने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए ।
सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गरिसकेपछि सम्भवतः एउटा कार्यदल बनाएर प्रक्रिया अघि बढाउने योजना रहेको मोर्चा सम्बद्ध एक नेताले जानकारी दिए । यी सबै विषयमा आजको बैठकले टुङ्गो लगाउने उनको भनाइ छ ।


