सर्लाही । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए । उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवामा पठाइएको प्रहरीले जनाएको छ ।


