१५ श्रावण २०८३, शुक्रबार 1785538957
समाचार

इजाजत प्राप्त हातहतियार बुझाउन धनुषा प्रशासनको आग्रह

जनकपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन सम्बन्धित सबैलाई सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय धनुषा वा नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो ।

प्रहरी इकाइमा बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीले फिर्ता लिनसक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । साथै, तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको भन्दै सूचना उल्लंघन नगर्न सबैमा अनुरोध गरेको छ ।