रायपुर । भारतको छत्तीसगढ राज्यस्थित एक स्टिल प्लान्टमा भीषण विस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको छ । बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँमा रहेको प्लान्टमा भएको उक्त दुर्घटनामा अन्य ५ जना कामदार गम्भीर घाइते भएका छन् ।
राजधानी रायपुरबाट करिब १०१ किलोमिटर उत्तर–पूर्वमा अवस्थित उक्त उद्योगको ‘डस्ट सेटलिङ च्याम्बर’मा अचानक विस्फोट भएको अधिकारीहरूले जनाएका छन् । विस्फोटपछि च्याम्बरमा रहेको अत्यधिक तातो धुलो कामदारहरूमाथि खसेको थियो ।
तातो धुलोले शरीर पोलेका कारण उनीहरूको अवस्था गम्भीर बनेको र उपचारका क्रममा ६ जनाले ज्यान गुमाएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार विस्फोट निकै शक्तिशाली थियो । घटनालगत्तै प्लान्ट परिसरभित्र भागदौड मच्चिएको थियो भने बाक्लो धुवाँ र आगोको ज्वालाका बीच कामदारहरू ज्यान जोगाउन यत्रतत्र भागिरहेका देखिएका थिए ।
अधिकारीहरूले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै विस्फोटको कारणबारे विस्तृत अनुसन्धान गर्न आदेश दिएका छन् ।घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


