मस्को । रुसको ओरेनबर्ग क्षेत्रस्थित ओस्र्क सहर नजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार दिउँसो करिब १ बजेतिर भएको उक्त दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
क्षेत्रीय प्रशासनका अनुसार ज्यान गुमाउनेहरूमा सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक जना प्रशिक्षक रहेका छन्। उनीहरू नियमित प्रशिक्षणका लागि उडानमा रहेका बेला उक्त दुःखद घटना भएको हो।
रुसी आपत्कालीन स्थिति मन्त्रालयले उद्धार टोली दुर्घटनास्थलमा पुगिसकेको र विमान खसेपछि त्यहाँ कुनै आगलागी नभएको जानकारी दिएको छ। विमान के कति कारणले दुर्घटनामा परेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।
स्थानीय कानुन कार्यान्वयन गर्ने निकायहरूले प्राविधिक खराबी वा मानवीय त्रुटि के थियो भन्ने पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन्।


