काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन् । बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे ।
चौधरीले कांग्रेस अहिले स्पष्ट विकास र समुन्नतिको एजेण्डा बोकेर अघि बढिरहेको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै वर्तमान कांग्रेसको प्राथमिकता रहेको बताए । उनले आफू निर्वाचनका लागि क्षेत्रमा नयाँ अनुहार नभएको भन्दै स्थानीय समस्या र आवश्यकतासँग पूर्ण रूपमा अवगत रहेको धारणा व्यक्त गरे ।
उनले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्न पाएको स्वीकार गर्दै धेरै काम अझै बाँकी रहेको बताए । ‘बाँकी काम पूरा गर्ने प्रतिबद्धता छ,’ उनले भने ।
चौधरीका अनुसार उनको क्षेत्रको सबैभन्दा ठूलो समस्या नागरिकताको थियो, जसको समाधान कांग्रेसले विगत ३० महिनामै गरेको छ । भूमिसम्बन्धी कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । यी उपलब्धिहरूले यस क्षेत्रमा विकासको जग बसेको भन्दै अब त्यसलाई थप गति दिनुपर्ने आवश्यकता उनले औंल्याए ।


