काठमाडौं । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ को चुनावी चर्चा पेचिलो बन्दै गएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट समाजसेवी एवं राजनीतिमा सक्रिय व्यक्तित्व रामेश्वर फुयालको प्रत्यक्ष उम्मेदवारीले काठमाडौ ३ को निर्वाचनमा रोमान्चक बन्न पुगेको स्थानीय बताउँछन् ।

विकास र समृद्धिलाई चुनाबी एजेन्डा बनाएर मैदानमा उत्रिएको नेकपा एमालेलाई यसपटकको निर्वाचन प्रतिष्ठाको बिषय बनेको छ । नेकपा एमालेको राम्रो सङ्गठन भएको क्षेत्रको रुपमा चिनिएको काठमाडौं ३ मा यसपटक रास्वपाका राजु पाण्डे र उज्यालो नेपालका कुलमान घिसिङ्ग उनको मुख्य प्रतिस्पर्धी बनेका छन् । चिरपरिचित अनुहार आफनो निर्वाचन क्षेत्रमा आएपछि चुनावी प्रचारप्रसारलाई स्थानीय बासीले तीब्र बनाएका छन । यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा एमालेका फुयालको तयारी छ ।

आज सिल्कन पार्टी प्यालेसमा आयोजित उम्मेदवार मतदाता भेटघाट कार्यक्रम उम्मेदबार फुयालले आसन्न निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई आह्वान गरे । घरदैलो तथा भेटघाट कार्यक्रममा मतदातालाई सुर्य चिन्हमा भोट हाल्न फुयालले अनुरोध गरेका छन् । आफ्ना कार्ययोजना सुनाउने क्रममा फुयाल भन्छन्, ‘मैले यस क्षेत्रमा तपाईंहरु माझ खड्किएको बाटोघाटो, खानेपानी, ढलनिकास, शिक्षा, स्वास्थ, पर्यटन, धार्मिक मठमन्दिर, ऐतिहासिक पुतात्विक महत्वका धरोहरुको संरक्षण, सम्वद्र्धन र पुनर्संरचना गर्ने जिम्मा मेरो भयो तपाईंहरुले मलाई ‘सुर्य’मा मत दिएर जिताउनुहोस् ।’ फुयाल अगाडि थप्छन्, ‘अहिलेसम्मको माहोल हेर्दा हाम्रो जित भइसकेको छ, त्यसमा तपाईंहरुको सहयोग अपरिहार्य रहने छ ।’ तपाईंहरुको यो साथ, सहयोग र समर्थन आगामी फागुन २१ गते सार्थक बनाउनुहुने छ भन्नेमा म ढुक्क छु ।’



