काठमाडौँ । नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ हिमाल श्रृङ्खलामा रहेका दुईवटा कुमारी चुचुराहरूको पहिलो ऐतिहासिक आरोहण सफलतापूर्वक सम्पन्न भएको हो ।
आरोही ही जिङको नेतृत्वमा रहेको आरोहण दलले गत फेब्रुअरी ९, २०२६ का दिन मुस्ताङमा अवस्थित ६,१८७ मिटर उचाईको ‘केक्याप री’ र ६,०६२ मिटर उचाइको ‘ज्याङ्लातुन्पू’ हिमालको सफल आरोहण गरेको हो । यसअघि यी हिमालको शिखरमा कुनैपनि मानव पाइला नपुगेकाले यसलाई विश्व पर्वतारोहण जगतमा निकै उत्साहजनक र ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।
पर्वतारोहणको क्षेत्रमा ‘कुमारी हिमाल’ भन्नाले अहिलेसम्म कसैले पनि विजय प्राप्त नगरेको शिखर बुझिन्छ । मुस्ताङका यी दुर्गम र चुनौतीपूर्ण चुचुराहरूमा पहिलो पटक मानव पाइला राखेर ही जिङ र उनको टोलीले नेपालको साहसिक पर्यटनमा नयाँ गन्तव्यको ढोका खोलेका छन् । सेभेन समिट ट्रेक्स र पेलियटको यो संयुक्त प्रयासले नेपाली हिमालहरूको प्रचार–प्रसारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
नेपालको पर्वतारोहणलाई नयाँ उचाईमा पुर्याउन यस्ता अन्वेषणात्मक आरोहणहरूले महत्त्वपूर्ण भुमिका खेल्ने पर्यटन विज्ञहरूको भनाइ छ । एक विशेष समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस ऐतिहासिक सफलताको प्रशंसा गर्दै नेपालको पर्यटन क्षेत्रका लागि यो एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।


