चितवन । रास्वपा सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन् । चुनावी सभाका क्रममा आज चितवनको आपटारीमा सम्बोधन गर्दै उनले भूमिहीन र सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताए । उक्त आयोगमा कुनै पनि दलका, प्रतिनिधि नराखी दलबाहिरका विज्ञ व्यक्तिहरूलाई समावेश गरिने उनको भनाइ थियो । लामिछानेले भूमिहीन र सुकुमबासीसँग सम्बन्धित समस्या वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको धारणा राखे । “यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,” उनले प्रतिबद्धता जनाउँदै भने ।
उनले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारे ।


