काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका मकवानपुर जिल्ला सभापति भरत पराजुलीले भविष्यमा कसैले पनि आफ्नोजस्तो नियति भोग्न नपरोस् भन्ने कामना गरेका छन् । ‘रास्वपामा मलाई माया, साथ र विश्वास गर्ने सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
म पार्टीमा नरहँदा केही सीमित व्यक्तिहरूलाई सुखानुभूति हुन सक्ला, तर भविष्यमा कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस् भन्ने कामना गर्दछु ।’ पराजुलीले फेसबुकमा लेखेका छन् । उनले समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गरे ।
‘तर समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो । सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।
मैले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ । कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ ।’ उनले अगाडि लेखेका छन् ।
उनले रास्वपा पार्टीको जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उनले रास्वपाको हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफ्ना हितैषीहरूको उचित कदर नहुने दाबी गरेका छन ।
‘हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ । साथै, यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको सम्बन्धित सबैमा जानकारी गराउँदछु ।’
पराजुलीले भने, ‘आगामी दिनहरूमा पनि म सदाझैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु । धन्यवाद ।’ यसैबीच, पराजुली आजै नेपाली कांग्रेस फर्किएका छन् । यसअघि २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका पराजुली पुनः कांग्रेसमा फर्किएका हुन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।


