काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा पुगेर सम्बोधन गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा समेत पुगेर सम्बोधन गरेका उनले सभापति थापालाई कुनै हालतमा हराउन आग्रह गरे । उनले सर्लाही ४ मा रास्वपाका डा. अमरेश सिंहले जित्ने दाबी गरे । ‘मलाई थाहा छ, सर्लाही ४ मा अमरेशजीले जित्नु हुन्छ’, उनले भने, ‘यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्छ । तर यस पटक काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्दैछन् । उनलाई ठाउँको ठाउँ रोक्नुपर्छ।’
उनले पहाडी र मधेशी भनेर म यहाँको मान्छे, त्यहाँको मान्छे भनेर अब बस्न नहुने बताए । ‘अब एकै पटक देशलाई न्याय दिन नेपालको कुरा गर्ने हो’, उनले भने, ‘अघिपछिको चुनाव जस्तो होइन, यस पटक विशेष चुनाव छ । सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा उभिएको पुरानो नाता हो ।’ उनले सर्लाहीलाई पर्दा विगतमा आफू लडेको भन्दै यस पटक न्याय दिन आग्रह गरे । ‘पहिले सर्लाहीका लागि लडेँ, यस पटक मलाई अलिकति न्याय चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ’, उनले भने ।


