काठमाडौं । श्री स्टिल्सले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले कुल ३३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने योजना अघि बढाएको हो ।
जुन कम्पनीको कुल चुक्ता पूँजीको २० प्रतिशत हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरिने कम्पनीले जनाएको छ । त्यस्तै, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक (इश्यू म्यानेजर) का रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि आगामी ६ महिनाभित्र आईपीओ निष्कासन गर्ने लक्ष्य राखिएको छ ।
श्री स्टिल्स नेपालमा औद्योगिक उत्पादन क्षेत्रमा सक्रिय तथा विश्वसनीय कम्पनीका रूपमा स्थापित हुँदै गएको छ । कम्पनीले पूर्ण स्वचालित उद्योगमार्फत उच्च गुणस्तरका टिएमटी रिबार (फलामे डण्डी) उत्पादन गर्दै आएको छ । जसले नेपाली निर्माण क्षेत्रमा बलियो उपस्थिति बनाएको छ ।कम्पनीका टिएमटी रिबारहरू संरचनालाई मजबुत बनाउने र भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्ने उद्देश्यले तयार गरिएका छन् । भूकम्पीय जोखिम उच्च रहेको नेपाल जस्तो देशका लागि यस्ता गुणस्तरीय फलामे सामग्री अत्यन्तै महत्वपूर्ण मानिन्छन् ।
श्री स्टिल्सले नेपालमै पहिलो पटक अत्याधुनिक जापानी प्रविधिअन्तर्गतको ‘छ स्ट्यान्ड ब्लक मिल’ प्रविधि प्रयोग गरी टिएमटी रिबार उत्पादन गर्दै आएको छ । यस प्रविधिले उत्पादनमा एकरूपता, मजबुती, लचकता तथा उच्च स्तर सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
आधुनिक प्रविधिको प्रयोग, गुणस्तरप्रतिको प्रतिबद्धता तथा राष्ट्रिय निर्माण क्षेत्रमा योगदानका कारण श्री स्टिल्स नेपाली बजारमा भरोसायोग्य नामका रूपमा स्थापित हुँदै गएको छ । आगामी आईपीओसँगै कम्पनीले सर्वसाधारणलाई समेत आफ्नो लगानी यात्रामा सहभागी गराउने अपेक्षा गरेको छ ।


