कास्की । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने एक युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
फागुन १५ गते दिउँसो चिप्लेढुङ्गास्थित पार्किङ स्थलमा दुई जना महिलामाथि कुटपिट तथा झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सक्रियता देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ हेम्जा बस्ने २३ वर्षीय मनिष थापा रहेका छन् ।
उनी चिप्लेढुङ्गा क्षेत्रमा पार्किङ शुल्क उठाउने कर्मचारीका रूपमा कार्यरत थिए । सार्वजनिक स्थलमा महिलामाथि हातपात र दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास सुरु गरेको थियो ।
खोजतलासका क्रममा थापालाई आइतबार सोही क्षेत्रबाट प्रहरी टोलीले पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्। थापामाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


