सर्लाही । भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्नेलगायत सम्पूर्ण कामहरु सम्पन भइसकेको छ भने मंगलबार नै जिल्लास्थित सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगी सकेका छन् ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार पारिएको छ । क्षेत्र नम्बर १ मा लालबन्दी नगरपालिका १० वडा कार्यालय, क्षेत्र नम्बर २ मा जिल्ला समन्वय समितिको पुरानो भवन, क्षेत्र नं. ३ मा नापी कार्यालय हरिवन र क्षेत्र नम्बर ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना हुनेछ ।
जिल्लामा ६२८ मतदान केन्द्र र ३१२ मतदानस्थल रहेका छन् । निर्वाचन सम्पन्न गराउन जिल्लाभर करिब तीन हजार ७०० जना कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना स्वंसेवक परिचालन हुनेछन् ।
यस्तै, जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलता विश्लेषणका आधारमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । कुल ३१२ मतदानस्थल मध्ये १५८ वटा अति संवेदनशील, १३१ वटा संवेदनशील र २३ वटा सामान्य श्रेणीमा वर्गीकृत छन् ।
भोलिको चुनावका लागि सर्लाहीमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य गरी पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । साथै, निर्वाचनमा सर्लाहीका ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।
चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर तथा पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
समानुपातिकतर्फ मतदान गर्न पाउने कैदीबन्दी ३४ जनासहित कर्मचारी, सेना र प्रहरी गरी कुल ६ हजार ८७ जना मतदाता रहेका छन् । प्रत्येक अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी तीन जनाको टोली खटाइनेछ ।


