काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले निर्धारित समयमै सबै मतदान केन्द्रमा मतदान सुरु भएको जनाएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ७ बजेदेखि नै देशव्यापी रूपमा निर्वाध ढंगले मतदान सञ्चालनमा आएको छ ।

मतदाताले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । आयोगले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जानकारी दिएको छ ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । साथै अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता दिइने विशेष सुविधा प्रदान गरिएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्र रहेका छन् । यसबाहेक १४३ अस्थायी मतदान स्थल पनि निर्धारण गरिएको छ ।
सुरक्षा व्यवस्थाअन्तर्गत ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ । साथै निर्वाचन कार्यका लागि करिब २ लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।
देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।


