काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ ।
इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य टेलिभिजनसँगको कुराकानीमा भने, “अमेरिकाले हाम्रो नेताको हत्या गरेको अवस्थामा हामी कुनै हालतमा विश्वकपमा सहभागी हुन सक्दैनौँ ।”
फेब्रुअरी २८ देखि अमेरिका र इजरायल एकातिर तथा इरान अर्कोतिरबीच द्वन्द्व चर्किएको छ । यस द्वन्द्वले पश्चिम एशियाली क्षेत्र मात्र नभई विश्व ऊर्जा आपूर्ति श्रृंखलामा समेत असर पुर्याएको छ । मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए । उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन् ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता जुन ११ देखि सुरु भएर जुलाई १९ मा फाइनल खेलसहित सम्पन्न हुनेछ । इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ । यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन् ।
तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन् । एएनआई


