काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
राजधानीलगायत देशभर एलपीजी गयाँसको अभाव देखिएपछि आयोगले आज विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।
“पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृतिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरूको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,” आयोगले विज्ञप्तिमा भनेको छ ।
मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावको कारण बिगत केही समयदेखि काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवम् प्रसारित विभिन्न समाचारहरूप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
यसै सन्दर्भमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरूसमेतको अनुगमन तथा अवलोकन गरेको छ ।
अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको, यसका लागि आयात हुनुपर्ने कच्चा पदार्थहरू साविकबमोजिम नियमित रूपमा नै आपूर्ति भइरहेको, केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा केही कमी भएको पाइएको आयोगले बताएको छ ।
“विभिन्न सञ्चारमाध्यममहरूमा ग्यासको समग्र आपूर्ति व्यवस्थापनमा नै समस्या भएको भन्ने सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतका तथ्यहरू प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ ।


