धनकुटा । धनकुटामा गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा (एमाले)ले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने एउटा पालिका कमिटी र तीन वटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
जिल्लाका सात पालिकामध्ये एमालेको पक्षमा तुलनात्मक रुपमा सबैभन्दा बढी प्रतिशत मत ल्याउन सफल चौबिसे गाउँ कमिटीलाई सम्मान गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार वडाहरूमध्ये एमालेको पक्षमा सबैभन्दा बढी प्रतिशत मत ल्याएर प्रथम हुने एमालेको चौबिसे ७ नं. वडा कमिटी, दोस्रो हुने सहिदभूमि ६ नं. वडा कमिटी र तेस्रो हुने पाख्रीबास ७ नं. वडा कमिटीलाई सम्मान गरिएको छ ।
एमालेका चार वटै कमिटीका अध्यक्षसहित पदाधिकारीहरूलाई पार्टीका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, केन्द्रीय सदस्य तारा तितुङ, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मानित गरेका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा धनकुटाबाट एमाले नेता राजेन्द्र राई १८ हजार १ सय ३२ मतसहित निर्वाचित भएका थिए ।


