नयाँ दिल्ली । पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रमा केयर युनिटमा भर्ना भई उपचाररत कम्तीमा १० बिरामीको मृत्यु भएको जनाइएको छ ।
ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहनचरण माझीले पत्रकारलाई बताएका छन् । उक्त ट्रमा आईसीयू वार्डमा विद्युत् सर्टका कारण आगलागी भएको उनले जानकारी गराएका छन् । घटनाको समयमा २३ बिरामी उपचाररत रहेका उनले पुष्टि गरे । उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अरू वार्डमा सारिएको जानकारी दिए ।
बिरामीलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ कर्मचारी जलेर घाइते भएका जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्तिको घोषणा गरेका छन् ।
यसअघि, सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो । २४ जनाभन्दा बढी घाइते भएका थिए । सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको थियो ।


