५ आश्विन २०८१, शनिबार 1726908798
राजनीति

चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरी बाहिरिने

काठमाडौं- पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन्। मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिने भएका हुन्।

जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन्।

यसअघि सरकारका सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन्।

नेकपा ९एस०ले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्दै फुल मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवार दिइएको छ।

सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन्।

देउवा सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मासहित नेकपा एसका पाँच जना मन्त्री रहेका छन्।