५ आश्विन २०८१, शनिबार 1726899013
राजनीति

इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय कायम गर्नुपर्ने: गगन थापा

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएको आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् । नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ । समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका इम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ ।