तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यका आक्रमण रोक्न अनुरोध गरेको भन्दै आफूहरूले त्यसको पालना गर्ने उनले स्पष्ट बताएका हुन् ।
नेतन्याहूको यो भनाइ इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण जारी राखिरहेका बेला आएको हो । नेतन्याहूले इजरायलले हालै इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित एक प्रशोधन केन्द्रमा इजरायल एक्लैले आक्रमण गरेको पनि पुष्टि गरे । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ । यो आक्रमणलाई युद्धको अरू तीव्र पार्ने क्षणका रूपमा हेरिएको छ ।
यसअघि इजरायलले इरानका इन्धन भण्डारण स्थलहरूमा मात्र आक्रमण गरेको थियो, उत्पादन केन्द्रमा प्रत्यक्ष प्रहार गरेको थिएन । यस आक्रमणको प्रत्युत्तरमा इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूका ऊर्जा संरचनामा हमला गरेको थियो । विशेषगरी कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा ठुलो क्षति पुगेको कतारी पक्षले जनाएको छ । यस घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य तीव्र रूपमा बढेको छ, र विश्लेषकहरूले दीर्घकालीन ग्यास अभावको जोखिमसमेत औँल्याएका छन् ।


