३१ जेष्ठ २०८३, आइतबार 1781500969
अर्थ

चैत २० देखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

काठमाडौँ । नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् । मेलामा तीन सय महिला उद्यमीले एक सय ४० स्टलमार्फत आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने उनले जानकारी दिइन् । 

प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिनेछ। कोशी प्रदेशबाट अल्लो, बाँस तथा प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला आर्ट, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी तथा ढाका, लुम्बिनीबाट परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडीपाखी र सुदूरपश्चिमबाट गलैँचा तथा काठका सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ।

“महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि काम गर्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भनिन्, “यस वर्षको मेलामा देशभरका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”

मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूले पनि आफ्ना उत्पादनहरू प्रस्तुत गर्ने उनले जानकारी दिइन् । यसले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । अध्यक्ष क्षेष्ठका अनुसार मेलाका आकर्षणहरूमा ‘र्‍याम्प वाक’, समूहगत छलफल, कार्यशाला, डिजिटलाइजेशन तालिम र वित्तीय साक्षरतालगायत कार्यक्रम समावेश छन् । मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान रहेको छ।