काठमाडौँ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन क्षतिग्रस्त भएकाले सभा सञ्चालन गर्न निकै विलखबन्धनमा परेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित संसद्को अस्थायी सभा हलमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा महासचिव पाण्डेले बाध्यात्मक अवस्थाबारे अवगत गराएका हुन् ।
‘जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद् भवन क्षतिग्रस्त भई सभा सञ्चालन योग्य नभएको । र, निर्माणाधीन भवन समेत तयार नभएकोले उक्त भवन संसद् सचिवालयलाई हस्तान्तरण नभएपछि सभा सञ्चालनमा हामी निकै विलखबन्धनमा पर्यौँ’, उनले भने । विभिन्न निकाय र पदाधिकारीसँग पटक–पटकको छलफल, पत्राचार र भेटघाट एवं दबाब मूलक कार्यबाट समेत निर्माणाधीन सभा हल संसद् सचिवालयलाई उपलब्ध हुन नसकेको सांसदहरूलाई जानकारी गराएका थिए ।
विभिन्न विकल्पको खोजीपछि अजा उपस्थित भएको बहुउद्देश्यीय हललाई नै शपथ कार्यक्रम र अल्पकालीन सभा सञ्चालन गर्ने निर्णय अनुरूप हतार हतारमा यस हल तयार गरिएको पाण्डेयले जानकारी दिए । विषम परिस्थितिमा यो हल तयार गरिएकाले थुप्रै कमीकमजोरी हुन सक्ने भएकाले त्यसप्रति संसद् सचिवालयको तर्फबाट उनले क्षमा मागेका थिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले नयाँ बानेश्वरमा रहेको संसद् भवन आगजनी गरी ध्वस्त पारेका थिए ।


