काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा नभई १०० मिटरको दौड जस्तो तीव्र गतिमा तय गर्नुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका झाले सञ्चारकर्मीसँग कुरा गर्दै देशको राजनीति र अर्थतन्त्रलाई गति दिन अबको कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने उल्लेख गरेका हुन्।
नेपालको लोकतन्त्रको ६६ वर्षको इतिहासलाई स्मरण गर्दै उनले अबको केही वर्षमा दशकौँको उपलब्धि हासिल गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। झाले विश्वको बदलिँदो राजनीति र अर्थतन्त्रको परिवेशमा नेपालले आफ्नो गतिलाई तीव्र बनाउनुको विकल्प नरहेको स्पष्ट पारे।
‘हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पिडमा लैजानुपर्छ,’ उनले भने, ‘म्याराथनको गतिले अब पुग्दैन, हामी १०० मिटरको स्पिडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ।’ उनले मतदाताले दिएको विश्वास र मतलाई निकै गम्भीरताका साथ लिएको बताउँदै जनताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता समेत जनाए।
निर्वाचनमा मतदाताले आफ्नो पार्टीलाई दिएको समर्थन महत्त्वपूर्ण रहेको बताउँदै झाले यसले आफूहरूलाई थप जिम्मेवार बनाएको महसुस गरेका छन् । मतदाताले मन र मत दुवै दिएर सुविधाजनक अवस्थामा पुर्याइदिएको उल्लेख गर्दै उनले जनताको त्यो आशालाई निराशामा बदल्न नदिने बताए।


