३ आश्विन २०८१, बिहिबार 1726802324
Banner

ईम्बोस्ड नम्बर अनिवार्य नहुने

काठमाडौं – यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो ।

इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ ।

विभागले विज्ञप्ति निकाल्दै आफूहरुको आशय साउन १ गतेबाट सबैलाई अनिवार्य गर्ने भनेको नभई पहिले नै शर्त तोकिएका निकायहरुले इम्बोस्ड जडान गरे कि गरेनन्, त्यस सम्बन्धमा मात्रै अनुगमन गर्ने भनेको बताउँदै आफ्नै पहिलेको सूचनाको खण्डन सहित बचाउ गरेको छ ।

२२ कात्तिकमा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो ।

विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ ।