बाजुरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्ध बाजुरामा विरोध प्रदर्शन गरिएको छ । एमाले जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शनी गरिएको हो ।
अध्यक्ष ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आज देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप बाजुरामा पनि पूर्वप्रधानमन्त्री ओलीको रिहाईको माग गर्दै विरोध गरिएको हो ।
‘विदेशी हस्तक्षेप मूर्दावाद, गृहमन्त्री राजीनामा गर,’ ‘ओलीको रिहाई गर, २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर,’ ‘राज्य आतंक बन्द गर, देश जलाउनेलाई कारबाही गर,’ ‘विदेशी दलाल होसियार’ भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगायत अन्य ठाउँमा एमालेका नेता तथा कार्यकर्ताहरुले बालेन नेतृत्वको सरकारको घोर विरोध गरेका हुन् । नवनियुक्त सरकारले सुरुमै प्रतिशोधको राजनीति गरेको उनीहरुको ठहर थियो ।
आज जनसंगठनले विरोध गरेको हुन् भने भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको एमाले बाजुराले जनाएको छ ।
अहिलेको सरकारले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्न आवश्यक रहेको बताउँदै नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरिएको हो ।


