बिर्तामोड । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा झापामा एमाले नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन साह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता–कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्याली गर्दै विरोध जनाएका हुन् । र्यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरुलाई गरिएको धरपकडविरुद्ध एमाले सडकमा आएको हो ।
अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको हो । मुक्तिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए । उनले देश नियम कानुनले चलाउन सुझाव दिँदै दुई तिहाईको दम्भ नदेखाउन सुझाव दिए । विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महंगो पर्ने उनको भनाई थियो ।
शान्तिपपूर्ण आन्दोलनबाट एमालेको माग पूरा नभए सडकबाटै सत्ताच्युत गराइदिने नेताहरुले चेतावनी दिएका छन् । पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


