बाजुरा । बाजुरामा बिहानैदेखि वर्षा भइरहेको छ । बाजुराका ९ वटै स्थानीय तहमा हावाहुरीका साथै वर्षात भइरहेको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात समेत भइरहेको छ ।
बाजुराको बडीमालिका, गौमुल, बुढीनन्दा, हिमाली, त्रिवेणी नगरपालिकाका हिमाली क्षेत्रमा हिउँ परिरहेको छ भने अन्य पालिकामा सामान्यदेखि मध्यम वर्षात भइरहेको छ । मौसममा आएको बदलिँदा कारण वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ । चिसोले स–साना बालबालिका देखि वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
त्यस्तै, माध्यमिक शिक्षा परीक्षा एसईई दिने परीक्षार्थी समेत चिसोले प्रभावित बनेका छन् । बाजुराका उच्च हिमाली क्षेत्रमा पटक पटक हिमपात भइरहेकोले जिल्लामा चिसो घट्न नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडीमालिका, रानीशैन, बुढीनन्दा, त्रिवेणी,कालाजग्रा, पोरखेगढीमा वर्षा हुने बितिक्कै हिमपात हुने गरेको छ ।
लगातार वर्षा भएसँगै उच्च हिमाली तथा लेकाली क्षेत्र हिमपातले सेताम्य बनेका छन् । बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भइरहेको छ भने अग्ला डाँडा पाखामा हिउँ समेत परिरहेको छ । वर्षातले सडक खण्ड हिलाम्मे हुनुका साथै इन्टरनेट र विद्युतीय सेवा समेत प्रभावित बनेको छ ।


