काठमाडौं- पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भएको इस्लामाबाद वार्ता २१ घण्टाको लामो छलफलपछि पनि कुनै सम्झौता बिना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसँग सहमति हुन नसकेको बताएका हुन्।

भान्सले भने, ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले धेरै ठोस छलफलहरू गरेका छौं, यो राम्रो खबर हो। नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं।’
उनका अनुसार इरानले आणविक हतियार विकास नगर्ने अमेरिकी सर्तहरू अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो। उनले थपे, ‘हामीले हाम्रा रेड लाइन के हुन् भनेर स्पष्ट पारेका छौं, तर इरानी प्रतिनिधिमण्डलले हाम्रा सर्तहरू स्वीकार नगर्ने छनौट गरेको छ।’
यसैबिच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सामाजिक सञ्जालमार्फत २४ घण्टामा होर्मुज जलमार्ग, आणविक मुद्दा, युद्ध क्षतिपूर्ति र प्रतिबन्ध हटाउने विषयमा गहन छलफल भएको बताए।
उनले भने, ‘यस कूटनीतिक प्रक्रियाको सफलता विपक्षी पक्षको गम्भीरता, असल विश्वास र इरानको वैध अधिकारको स्वीकृतिमा निर्भर गर्दछ।’ उनले वार्ता आयोजना गरेकोमा पाकिस्तान सरकारप्रति आभार पनि व्यक्त गरे।
विशेषज्ञ स्तरको छलफलमा आर्थिक, सैन्य, कानुनी र आणविक मुद्दाहरूमा लिखित प्रस्तावहरू आदानप्रदान गरिए। यो वार्ता फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वपछि अप्रिल ८ मा भएको युद्धविरामको समयमा आयोजना गरिएको थियो।अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति भान्स र इरानी टोलीको नेतृत्व सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए।
आणविक कार्यक्रममा नियन्त्रण र प्रतिबन्ध हटाउने विषयमा दुवै पक्षका अडान कायम रहेकाले वार्ताले ठोस रूप लिन नसकेको हो। एजेन्सी


