काठमाडौं । अमेरिकी प्रशासनले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ । यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा गम्भीर असर पार्ने आशंका उब्जाएको छ ।
अमेरिकी नाकाबन्दीको खबर सार्वजनिक भएलगत्तै आइतबारको प्रारम्भिक कारोबारमा तेलको मूल्य बढेको हो । अमेरिकी क्रूड आठ प्रतिशतले बढेर १०४.२४ डलर प्रतिब्यारेल पुगेको छ । ब्रेन्ट क्रूडको मूल्य सात प्रतिशतले बढेर १०२.२९ डलर प्रतिब्यारेल पुगेको छ ।
युद्ध सुरु हुनुअघि ७० डलरको आसपास रहेको तेलको मूल्य अहिले पुनः १०० डलरमाथि पुग्दा विश्वव्यापी ऊर्जा संकट निम्तिने खतरा बढेको छ । होर्मुज जलसन्धि विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल पारवहन मार्ग हो । अमेरिकी सेन्ट्रल कमान्डले इरानी बन्दरगाह र तटीय क्षेत्रमा प्रवेश गर्ने वा बाहिरिने सबै देशका जहाजहरूलाई रोकिने बताएको छ ।
गैरइरानी बन्दरगाहहरू जस्तैः साउदी अरब वा कुवेतबीच यात्रा गरिरहेका जहाजहरूलाई भने पारगमनको अनुमति दिइने बताएको छ । विश्वको कुल व्यापारिक तेलको करिब २० प्रतिशत (पाँचौँ हिस्सा) हरेक दिन यही मार्ग भएर जान्छ । साउदी अरब, इराक, युएई र कुवेत जस्ता ठूला तेल निर्यातकहरू यसैमा निर्भर छन् ।
युद्धविरामका बाबजुद यो मार्गमा जहाजहरूको चहलपहल पहिले नै कम थियो । मरिन ट्रयाकर्सका अनुसार, युद्धविराम सुरु भएयता जम्मा ४० वटा वाणिज्य जहाजले मात्र यो मार्ग प्रयोग गरेका छन् । अब अमेरिकी नाकाबन्दीले गर्दा यो संख्या अझै घट्ने र ढुवानी लागत महँगो हुने बताइएको छ ।


