उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा मंगलबार बिहान भीषण आगलागी हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान करिब पौने ३ बजे लक्ष्मीनारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा परेर मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । अस्मिता खड्का भने घाइते भएकी छन् र उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगलागीले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवका घरसमेत जलेर क्षति पुगेको छ । त्यतिबेला सबै जना घरभित्र सुतिरहेको अवस्थामा आगलागी भएको बताइएको छ ।
स्थानीय, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो बिहान नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


