महेन्द्रनगर– जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।

त्यस अवसरमा जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गर्नुभयो । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।
यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।
आजै दिउँसो १२ः०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गर्नुभएको थियो । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिनुभयो ।
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित दुग्धमति नदीमा साधुसन्त, वृद्धवृद्धा, महिला तथा युवा भक्तजनको घुइँचो लागेको छ।
जानकीजी प्रकट भएको दिनलाई स्मरण गर्दै शनिबार बिहानैदेखि साधुसन्त तथा श्रद्धालु भक्तजन पवित्र स्नानका लागि नदीमा ओर्लिएका छन् भने कतिपयले किनारमै पूजा–आराधना गर्दै फूल, प्रसाद र दीप अर्पण गरिरहेका छन्। परम्परागत भेषभूषामा सजिएका साधुसन्तहरूले भजन–कीर्तन गर्दै धार्मिक वातावरणलाई अझ भावपूर्ण बनाएका छन्।
यस्तै, पछिल्लो पाँच वर्षदेखि जानकी मन्दिरको अगुवाइमा ‘शाही स्नान’ कार्यक्रमसमेत आयोजना हुँदै आएको छ। यस क्रममा साधुसन्तहरूको विशेष शोभायात्रासहित सामूहिक स्नान गरिन्छ।
शाही स्नानमा सहभागी जानकी मन्दिरका महन्तका उत्तराधिकारी राम रोशन दास वैष्णवका अनुसार दुग्धमति नदी र माता जानकीको प्रकट हुनु एउटै समयसँग जोडिएको जनविश्वास छ। त्यसैले यस दिन यहाँ स्नान गर्दा जानकी माताको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ।


